A campaign "To end compulsive prostitution and violence against women"

977-1-4437552

Home Blog सन्तानले जन्माएकी ‘आमा’

सन्तानले जन्माएकी ‘आमा’

‘सन्तानले जन्माएकी अविवाहित आमा म,
मैले नजन्माएका सन्तानसँगै लडिरहेछु,
यी भगवानरूपी सन्तानको,
आशीर्वादले निर्धक्क अगाडि बढिरहेछु।’

कविता वाचनपछि रक्षा नेपालको लैनचौरस्थित कार्यालयमा भेटिएकी मेनुका थापाले भनिन्, ‘यो मेरो जीवनमा ठ्याक्कै मेल खाएको छ।’

हुन पनि १५ वर्षदेखि क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार तथा सहयोग गर्दै आएको संस्था रक्षा नेपालको सारथि बनेकी अविवाहित मेनुकाको यतिखेर परिचय नै फेरिएको छ, ‘सबैकी आमा’ का रूपमा।

आफूले नजन्माएका सन्तानको ‘आमा’ बनेकी मेनुका आफू भने गर्भमै टुहरी, त्यसपछिको बाल्यावस्था र किशोरावस्थासम्म अनेकौं हण्डर र ठक्करसँग जुधेर यहाँसम्म आइपुगेकी हुन्। उमेरमै पति वियोगले विक्षिप्त आमाको ममताबोध गर्न नपाए पनि दिदीहरूको सामीप्यमा हुर्कन पाएकाले उनी सबै स्त्री जातिमा ‘आमा’कै स्वरूप देख्छिन्, भर्खरै जन्मेको छोरी नै किन नहोस्।

 

१५ वर्षदेखि क्याबिन, डान्सबार र मसाज पार्लरमा यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार तथा सहयोग गर्दै आएको संस्था रक्षा नेपालको सारथि बनेकी अविवाहित मेनुकाको यतिखेर परिचय नै फेरिएको छ, ‘सबैकी आमा’ का रूपमा।

त्यसैले पनि पछिल्लो समय फूलजस्ता कलिला छोरीहरूदेखि वृद्धा, अपांग महिलाहरूमाथि बलात्कारको शृंखला बढ्न थालेकाले बलात्कारीलाई मृत्युदण्डकै सजाय हुनुपर्छ भनेर २०६० सालदेखि आवाज उठाउँदै आएकी छिन्, उनी।

एसएलसी सकिएलगत्तै काभ्रे, बेथानचोक–४, पाटीखर्कबाट अनेकौं सपनाहरू बोकेर काठमाडौं खाल्डोमा छिरेकी मेनुका(३५)ले २०६० सालसम्म दुःख र कष्टबाहेक केही पाइनन्। स्कुलमा छँदा भजन र गीतहरू गाउने कला भएकै कारण काठमाडौंको एउटा दोहोरी साँझमा काम गर्दै जाँदा भोगेका पीडाहरूको उपज नै आज ‘रक्षा नेपाल’ का रूपमा स्थापित भएको छ। जुन यौनजन्य हिंसाबाट पीडित महिलाहरूको भरलाग्दो सहाराको रुपमा खडा छ।

संघर्ष यात्रा
सात वटी दिदीहरूपछि जन्मेकी कान्छी छोरी मेनुका, त्यसमा पनि गर्भे टुहुरी भइन्। बुबा बितेको आठ महिनापछि जन्मँदा आमाको उमेर ३५ वर्ष, यही उमेरमा श्रीमान गुमाउनु पर्दाको पीडाले आमालाई विक्षिप्तमात्रै बनाएन, आफैंले जन्माएकी छोरीलाई दूध खुवाउनेसमेत होसै रहेन।

‘आमा जिउँदो त हुनुहुन्थ्यो। तर, म जन्मेको धेरै वर्षसम्म पनि होस ठेगानमा नहुँदा मलाई दिदीहरूले गाईको दूध खुवाएर हुर्काउनु भएको रे। अलि बुझ्ने भएपछि थाहा पाएँ– मलाई बुबा नभएको भनेर सबैले ‘अलच्छिनी’, ‘बाबु टोकुवाई’ भन्दा रहेछन्। तर, मेरा सातवटै दिदीहरू निरक्षर भए पनि पालैपालो मलाई हेरचाह गर्थे। माइली दिदीले मेरै हेरचाहमा सौता खेप्नु प-यो। सधैंभरि माइतीमा मलाई हेरेर बसेको भनेर भिनाजुले सौता हाल्नु भएको रे,’ मेनुकाले भनिन्।

मेनुकाको उमेर जति बढ्दै गयो, आमाको विक्षिप्तता पनि घट्दै गयो। स्वास्थानीको कथा नसुनिकन आमालाई निद्रा नपर्ने भएपछि मेनुकाले घरमा वर्षैभरि कथा भन्न थालिन्। ‘नानी तँ र स्वस्थानी कथाको लावण्यदेशका नवराज राजा एकै हुन्। दुवैको बाबु गर्भमै परलोक भएका थिए । बाबुबाजेको नाम राख्नु पर्छ, इज्जतचाहिँ नफाले भन्नुहुन्थ्यो । त्यसका लागि मानवको सेवा गर्नु भन्नु हुन्थ्यो। अहिले लाग्छ– मेरो मनमा समाज सेवाको बीजारोपण गर्ने मेरी आमा नै हुनुहुन्थ्यो,’ उनले भनिन्।

स्कुल पढ्ने क्रममा उनीसँग दुई–तीन वटा किताबभन्दा बढी कहिल्यै भएन किनकी घरमा किताब किन्ने पैसासमेत हुँदैनथ्यो। साथीहरूको होमवर्क गरिदिन्थिन्, बदलामा साथीहरू पढ्नका लागि उनलाई किताब दिन्थे।

बालखदेखि नै काटमार गरेको देख्दा डरले घरभित्र लुक्न जाने उनलाई पशुलाई किन काटेको होला भन्ने जिज्ञासा भइरहन्थ्यो। यस्ता कुरा मन नपर्ने हुँदा माछामासु खाइनन्। पछि उनकै करबलले दसैँमासमेत घरमा मार हान्ने चलन हट्यो । आफ्नो माग सफल भएपछि उनले निकै खुसी भइन्।

‘शाकाहारी भएर हो कि दुब्ली र लुरी थिएँ। सबैले दूध नपुगेको बच्ची भन्थे। सधैंभरि घाँटीको समस्या हुन्थ्यो। हात–खुट्टामा जताततै घाउ खटिरा आइरहन्थे। एक हिसाबले रगत र पीपको बीचमा बाल्यकालदेखि किशोरावस्था गुज्रियो। गाउँनजिकैको खोपासी हेल्थ पोस्टमा धेरै पटक देखाएँ। निको हुँदै भएन। तर, अचम्म १६ वर्ष टेक्नासाथ ती घाउ खटिरा एक्कासी गायब भए। कतै दैवी शक्तिले पो हो कि भन्ने लाग्यो’, उनले थपिन्।

गाउँकै कालिका माविमा कक्षा ५ सम्म पढेपछि थप अध्ययनका लागि पौने घन्टाको दूरीमा पर्ने श्रीराम मावि, खोपासीमा पुगिन्। त्यहाँबाट २०५४ सालमा एसएलसी पास गरिन्। परिवारमा एउटैमात्र दाई भए पनि आफ्नै बालबच्चा हेर्न नसकेको अवस्थामा उनलाई हेर्ने कुरै भएन। दिदीहरू सबैले टुहुरी भनेर माया गर्थे।

‘एसएलसीपछि मेरो वास्तविक जीवन यात्रा सुरु भयो। त्यतिबेला माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो, घरमै आएर जंगलमा लैजान खोज्थे। भागेर काठमाडौं आएँ। दाजुले केही सहयोग गर्न नसक्ने, भएका आफन्तहरूसमेत तर्कने, काठमाडौं आएर पढ्नु मेरो लागि ठूलो पहाड तेर्सिएझैं भयो,’ मेनुकाले भनिन्।

काभ्रे जिल्लामा घर भए पनि बानेश्वरभन्दा अगाडि के छ थाहा थिएन उनलाई। सुरुका केही दिन बानेश्वरमा आफन्तकोमा शरण लिएकी मेनुका सधैं बिहान नयाँ बानेश्वर चोकको फुटपाथमा राखिएका पत्रिकाहरू हेर्न जान्थिन्। ‘मनको कुनामा एउटा आश पलाउँथ्यो, कतै केही अवसर पो मिलि हाल्ला कि भनेर। तर, कैयौं दिनहरू भोकभोकै र अनिँदो बिते,’ उनले स्मरण गरिन्।

रेडियोमा सुनेको र पत्रपत्रिकामा पढेकोझैं संघसंस्थाहरूले अप्ठ््यारोमा परेकाहरूलाई सहयोग नगर्ने तीतो अनुभव पनि सँगालेकी छिन्, मेनुकाले।

‘धेरै संघसंस्थाको ढोका चहारेँ, उनीहरू सबैले कुनै न कुनै सर्त तेस्र्याए। कि बेचिएकी हुनुपर्ने, कि एचआइभी संक्रमित, कि सडक बालिका हुनुपर्ने। तर, ममा कुनै पनि ‘क्राइटेरिया’ मिलेन रे  उनीहरूका लागि। कतैबाट केही नहुँदा एकपछि अर्को घृणा थपिँदै गयो,’ उनले भनिन्।

झन्डै डिपे्रसनको सिकार भइसकेकी मेनुकाले ३–४ पटक आत्महत्याको प्रयास पनि गरिन् । तर, आमाले भनेका कुरा झल्याँस्स सम्झँदै निर्णय बदल्थिन्। ‘समस्यामा भागेर होइन, डटेर मुकाबिला गर्नुपर्छ। किनकी तिमी लावण्य देशका नवराज राजाजस्तै हौ छोरी भन्ने आमाको भनाई सम्झन्थेँ। तैपनि मेरा कठिन यात्राका पाइलाहरू चल्दै रहे,’ मेनुकाले थपिन्।

सधैंभरि सबै दिन एकनासका नहुने रहेछन्। एक दिन बिहान नयाँ बानेश्वरमै पत्रिका हेर्दै गर्दा भेटिएका बुद्ध एयरका चिफ इन्जिनियर मोहनबहादुर थापाले मेनुकाको एसएलसीपछिको अध्ययन यात्रालाई पद्मकन्या क्याम्पसमा लगेर जोडिदिए। ‘उहाँ मेरा लागि भगवान नै बनेर आइदिनु भयो। त्यसपछि नियमित पढाइ त थालेँ। तर, डेरा बस्ने, खाने र अरु खर्च त जुटाउनु नै थियो। सधैंभरि पिरलोले छाडेन,’ उनले भनिन्।

जिन्दगीको नयाँ सिकाइ
काठमाडौंका दोहोरी, डान्सबार र क्याबिनका बारेमा खासै जानकार नभएकी मेनुका एक जना चिनेजानेको दाइको लैलैमा लागेर महिनाको २५ सय तलब पाउने गरी गायन क्षेत्रमा प्रवेश गरिन्। स्कुलमा छँदा भजन र गीतहरू राम्रोसँग गाउने भएकाले उनलाई यो जागिरले दुई तरिकाले मोहित बनायो, गाउने रहर पनि पूरा हुने अनि कमाई पनि हुने। तर, सोचेजस्तो कहाँ हुन्थ्यो र?

‘एक महिनासम्म मेहनतले गाएँ। महिना मरेको दिन तलब माग्दा साहुले ऊ फलाना सरसँग सुत्न जा भनेर देखाउँदा रिसले आँखै देखिनँ। बियरको खाली सिसी फुटाएर त्यसैले हान्न खोजेँ । तलार्इं पख् भन्दै साहु औंलो ठड््याएर निस्कियो। मसँगै काम गर्ने साथीहरू डराएछन् । मेनुकाले त्यो साहुसँग दुश्मनी लिइ, अब उस्ले मार्छ भनेर। कतिले त दिदी हामी वर्षांैदेखि यही अत्याचार सहँदै आएका थियौं। तपाईँ हिम्मती देखिनु भयो। अब हामी पनि हाम्रो अधिकारका लागि तपाईँसँग एक हुन्छौं भने,’ उनले भनिन्।

यसपछि बल्ल मेनुकाले काठमाडौंमा नराम्रोसँग मौलाउँदै गएको यौनजन्य हिंसाका बारेमा भेउ पाइन्। साहुसँगको प्रतिवादपछि उनलाई दोहोरीका कर्मचारी सबैले आदर र सम्मान गर्न थाले। २०६० सालसम्ममा डान्स, क्याबिन, दोहोरी तथा मसाज पार्लरमा काम गर्ने ८० जना महिलाहरूको समूह पनि तयार गरिन्।

दिउँसो खाली रहने तिनै महिलाहरूलाई पालैपालो आफ्नो डेरामा बोलाउँदै पत्रपत्रिकामा महिला अधिकारबारे छापिएका लेख तथा रचनाहरू पढेर सुनाउने काम गरिन् । उनीहरूलाई नाम लेख्न र पढ्न सक्ने बनाइन्।

‘डेराभाडा नै आठ सय तिर्नुपथ्र्यो। अलग्गै कोठा लिएर कुराकानी गर्ने अवस्था नै थिएन। सुरुमा २२ जना महिलाहरू आए। पहिलो काम नै उनीहरूलाई आफ्नो नाम लेख्ने र अरुको नाम पढ्न सिकाएँ। किनकी त्यतिखेर डान्सबार, दोहोरी र मसाज पार्लरका निरक्षर कामदार केटीहरूलाई प्रहरीले अनेक दुःख दिन्थे। त्यही भएर पहिलो चरणमा प्रहरीको नाम पढ्न सक्षम बनाएँ,’ उनले थपिन्।

सधैंभरि एउटा कोठामा बसेर कार्यक्रमहरू गर्नुभन्दा पनि आफूहरूकै एउटा संस्था भएमा काम गर्न सजिलो हुने भन्ने समूहले सुझाव दियो। जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गर्नका लागि विधानसहित कागजपत्रहरू लिएर मेनुकासहित ती केटीहरू पनि गएका थिए।

‘सहायक सिडिओले निवेदन ओल्टाउँदै–पल्टाउँदै अनि हामीहरूलाई हेर्दै तिमीहरूजस्ता केटाकेटीले पनि संस्था चलाउन सक्छौ भने। त्यतिमात्रै नभई फाँटवालाहरूले समेत यो मिलेन त्यो मिलेन भन्दै ९ महिना झुलाए । संयोग नै भन्नुपर्छ, २०६० चैतमा मैले २१ वर्ष टेकेको थिएँ । त्यही महिनामा रक्षा नेपालको स्थापना भयो,’ मेनुकाले भनिन्।

संस्था दर्ता भएको पाँच वर्षसम्म उनीहरूले असाध्य दुःख कष्ट भोगे। संस्थाका सबै कार्यक्रमहरू मेनुकाकै कोठामा गर्नुपथ्र्यो। तैपनि यौनजन्य हिंसामा परेका महिलाहरूको उद्धार र सहयोगमा कुनै कमी आउन दिएनन्। संस्था सञ्चालनमा आफ्नो छाक काटेर भए पनि निरन्तरता दिइरहे। सोही वर्ष मेनुका र रक्षा नेपालका पदाधिकारीलाई क्यानेडेली सहयोग निकायले भेट्न आउनु भनेर खबर पठायो। त्यो खबर नै आजको रक्षा नेपालको पहिलो र बलियो जग सावित भएको छ।

‘म, सचिव र कोषाध्यक्ष भेट्नलाई गयौं। सबै कुरा राख्यौं। उहाँहरूलाई हामीहरूको काम गर्ने तौरतरिका र उद्देश्यले मन छोएछ। प्रपोजल लिएर आउन भन्नुभयो। त्यतिखेरसम्म हामीलाई प्रपोजल के हो, कसरी लेख्ने थाहै थिएन। हामीले सक्दैनौ होला भनेपछि त्यहीँका रामजी न्यौपाने सरको सल्लाहले नेपालीमै संस्था के हो, को–को छन्, कसरी सञ्चालन भइरहेको छ, अबको पाँच वर्षमा के–के गर्छौं भन्ने लेखेर लग्यौं। उहाँले अंग्रेजीमा उल्था गरिदिनु भयो,’ मेनुकाले भनिन्।

क्यानडा सरकारमार्फत पहिलो पटक रक्षा नेपालले १५ लाख रूपैयाँ सहयोग पायो। ‘हामीले गरेको क्रियाकलाप, प्रगति प्रतिवेदन र पारदर्शितामा उहाँहरूलाई चित्त बुझेछ। त्यसपछि अर्को चरणमा २५ लाख रूपैयाँ दिनुभयो। २०७० सालसम्म उहाँहरूकै सहयोग र साथले काममा सहजता आयो,’ उनले भनिन्।

नेपालबाट कार्यक्रम ‘फेज आउट’ हुनेबेला क्यानेडियनहरूले यहाँ रहँदा चलाएका फर्निचर, कम्प्युटर, क्यामेरालगायतका सबै सामग्रीहरू रक्षा नेपाललाई दिएर गएका छन्। आजसम्म तिनै सामग्रीहरूको भरमा संस्थाको कार्यक्रमहरू चल्दै आएका छन्।

सबैकी आमा ‘मेनुका’
रक्षा नेपाल सुरु गरेपछिका केही वर्षसम्म उनलाई सबैले मिस र म्याडम भनेर बोलाउँथे। २०६३ सालको कुरा हो। हजुरबाले बलात्कार गरेकी एउटी नानीलाई रक्षा नेपालले आश्रय दिएर नजिकैको स्कुलमा भर्ना गरिदिएको थियो। कक्षा ४ मा परिवारको बारेमा चित्र बनाएर भन्नुपर्ने रहेछ।

अरु बच्चाहरूले आफ्नो घर, हजुरबा, हजुराआमा, बा, आमाको नाम राख्दै चित्र बनाएछन्। सानैदेखि रक्षा नेपालकै आश्रयमा बसेको हुँदा ती नानीले ‘मेरो घर रक्षा नेपाल, मेरो आमा मेनुका मिस’ लेखिछन्। कक्षाका अरु बच्चाले यसको घरमा सर र आमाचाहिँ कसरी मिस भयो भन्दै हाँसेछन्। र, जिस्क्याएछन् पनि।

‘घरमा, अदालतमा हुँदाहुँदै स्कुलमा समेत ती नानी मानसिक रूपमा फेरि ‘रेप’ भइन्। भोलिदेखि स्कुल जान्न भनेर ढिपी कस्न थालिन्। भोलिपल्ट स्कुल गएर मैले नानीको आमा हुँ भने । त्यसयता सबैको आमा भएँ। आफ्नी आमा विक्षिप्त हुँदा पाउन नसकेको मायालाई भुल्ने कोशिश गर्दै छु। अनि एउटा कविता लेखेँ–

‘मैले नजन्माए पनि, मेरै कोखबाट जन्मिएझैं लाग्यो।’

स्कुलमा जान अनिच्छुक र उमेर घर्केकाहरूलाई लक्षित गरी २०६८ सालमै शिक्षा कार्यालयबाट रक्षा वैकल्पिक विद्यालयको स्वीकृति लिइएको छ। यो कक्षामा अपराह्न ३ देखि ४ बजेसम्म महिलाहरू पढ्दै आएका छन्।

स्वाभिमानी सोच
जीवनका आएका धेरै चुनौतीहरूको सामना गर्दै अघि बढ्ने क्रममा आरोपहरू लगाउनेको कमी भएन। अदम्य साहस र हिम्मतले उनी आफूमात्रै नभई यौनजन्य हिंसामा परेको हजारौं महिलाहरूको उद्धार गर्दै अभिभावकत्व दिँदै अघि बढिरहिन् । उनीहरूलाई स्वाभिमानी बनाउन नेतृत्व विकास, आत्मरक्षात्मक र सीपमूलक तालिमसहित आर्थिक स्रोत उपलब्ध गराएर सहयोग गरिरहिन्। यसपछि अरु दाताहरू पनि सम्पर्कमा आउन थाले।

‘हाम्रो एउटै मिसन थियो– जसको सवाल, उसैको अगुवाई। त्यही भएर हाम्रो संस्थामा हामीले उद्धार गरेका छोरी महासचिव, कोषाध्यक्ष छिन्, हिजो म एक्लै थिएँ। आज हाम्रो टिम छ। देखाउनलाई मात्र काम गर्ने होइन रहेछ। मान्छेको जीवन बनाउने र टुक्रेको मन जोड्ने काम नै ठूलो रहेछ,’ उनले भनिन्।

मेनुकाको डेराबाट सुरु भएको रक्षा नेपालका अहिले १२ जिल्लामा शाखाहरू छन्। महिलाहरूको आर्थिक अवस्था उकास्नका लागि उद्यमशीलता तालिम दिइएको छ। चार जना महिलाको समूहमा बिना धितो एक लाख रूपैयाँ ऋण दिन थालिएको छ।

बलात्कार तथा यौनजन्य हिंसामा परेका महिलाहरूलाई मात्रै उद्धार गरेर नहुने मेनुकाको १५ वर्षको सिकाइले भन्छ, ‘पीडित एक जनालाई मात्रै सहयोग गरेर नुपग्ने रहेछ। उनीसँगै परिवारलाई समेत सशक्त बनाउनुपर्ने रहेछ। यही आधारमा हामीले सीपमूलक काममा उनीहरूका परिवारलाई पनि संलग्न बनाइरहेका छौं,’ उनले भनिन्, ‘यौनजन्य हिंसापीडित महिलाहरूले बनाएका ह्याण्डी क्राफ्टका सामानहरू यतिखेर गुगलले किनिदिन्छ। ब्रिटिस आर्मीले किनिदिन्छन्। हिंसापीडित छोरीबहिनीका उत्पादनहरू भनेर प्रशस्तै माग आइरहेको छ।’

संस्थाको स्थापनादेखि हालसम्म यौनजन्य हिंसामा परेका एक हजार ६ सयभन्दा बढी महिलाहरूको उद्धार र उनीहरूलाई आत्मनिर्भर बनाउन रक्षा नेपालले सहयोग गरेको छ। कानुनी विभेदकै कारणले महिला आश्रय स्थलको व्यवस्था गर्नु परेको मेनुका बताउँछिन्, ‘१८ वर्षभन्दा कम उमेरको केटा बलात्कारी भएमा उसलाई जेल नलगी सुधारगृह लैजाने अनि १८ वर्षभन्दा कम उमेरकी केटी बलात्कृत भएमा घरपरिवारबाटै विस्थापित हुनुपर्ने, सिंगो जीवन उसैका लागि बोझ हुने गरी बाँच्नुपर्ने, यो कहाँको समानता हो?’ उनले थपिन्।

पीडितहरूकै व्यावहारिक संरक्षणका लागि संस्थाले दुई वर्षअगाडि मात्रै आठ करोड रूपैयाँका अचल सम्पत्ति जोडेको छ, जसमा दुई सय जनासम्म पीडितलाई आश्रय तथा व्यावसायिक तालिमहरू सञ्चालन गर्न सकिने क्षमताका भवनहरू बनाइएका छन् । आश्रित महिलाहरूलाई शिक्षाका साथै आत्मरक्षाका तालिमहरू प्रदान गरिँदै आइएको छ । एक किशोरीले टोफल सकेर यतिखेर एमबिबीएसको तयारी कक्षामा अध्ययनरत छिन् ।

वित्तीय अनुशासन सँगसँगै
संस्था दर्ता भएलगत्तै आठ वर्ष अवधिमा दैनिक १० रूपैयाँ जम्मा गर्न थालेका महिलाहरूले २०६८ सालसम्ममा आठ लाख ७५ हजार तीन सय ५० रूपैयाँ जम्मा गरेछन्। सधैंभरि रक्षा नेपालले यस्तो काम गर्दा कानुनविपरित हुने र महिलाहरूले पनि वित्तीय अनुशासन नसिक्ने भएकाले उपायका रूपमा बचत तथा ऋण सहकारी संस्था दर्ता गर्ने निर्णय गरे।

‘सहकारीले दर्ताका लागि यत्ति धेरै ‘ह्यारेस’ ग-यो कि भनि साध्य छैन । लोक सेवाको जाँचजस्ता इन्टरभ्यू त कति पटक लिए। यो भएन, त्यो भएन भन्दै त्यहाँ पनि धेरै झुलाए,’ सरकारी झन्झट वर्णन गर्दै मेनुकाले भनिन्।

तर, त्यसै क्रममा सह–सचिव (हाल अवकाश) सुदर्शनप्रसाद ढकालले उनीहरूलाई ठूलो गुण लगाइदिनु भएको रहेछ। ‘सुदर्शन सर हाम्रा लागि भगवान भइदिनु भयो। हामीहरूका कथा–व्यथा सुनेपछि सहकारी दर्ता गरिदिनु भन्ने तोक लगाइदिएर रमाना लिएर जानु भयो। उहाँ सहकारीका द्रष्टा हुनुहुँदो रहेछ। आज उहाँको एउटा तोकले दर्ता भएको रक्षाश्री बचत तथा ऋण सहकारीमा तीन करोड रूपैयाँ पूँजी पुगेको छ। एक हजार पाँच सय सदस्य महिलाहरू कारोवार गर्छन्। ऋण लिन्छन्, उद्यम गर्छन्, सुरक्षित भविष्यका लागि बचत गर्छन्,’ उनले थपिन्।

सबैभन्दा दुःखको क्षण
गर्भे टुहुरी भएकाले बाबुलाई देख्न नपाए पनि हरेक कुशे औंशी (बाबु खुवाउने) का दिन तीन अञ्जुली पानी चढाउँदै आएकी मेनुकालाई २०७१ सालको कुशे औंशी सम्झँदा मन कुँडिने बताउँछिन्। किनकी त्यसै दिनमा पनौतीकी एक छोरीले आफूमाथि बलात्कार गर्ने बाबुलाई हत्कडी लगाउने हिम्मत गरेकी थिइन्। यौनजन्य हिंसापीडितहरूसँग काम गर्ने क्रममा दुःखका घटनाहरू अनगिन्ती भए पनि जन्म दिने बाबुको मुख हेर्नुपर्ने दिनमै त्यही बाबुलाई छोरीले हत्कडी लगाउनुपर्ने अवस्था आउनु ज्यादै दुःखदायी बनेको उनको भनाइ छ।

खुशीको क्षण
रक्षा नेपालको अथक यात्रालाई सरकारले धेरै समयपछि चिनेको रहेछ। संस्थाको नाममा मागी खाने भाँडो बनाएका विकृतिहरू मौलाएको अवस्थामा रक्षा नेपालको परीक्षा सरकारले गर्नु स्वाभाविक भएको मेनुकाको भनाई छ।  ‘संस्था सुरु भएको सातौं वर्षमा २०६७ भदौमा महिला तथा बालबालिका मन्त्रालयले सम्मान गरेको छ। म र रक्षा नेपालका लागि यो ज्यादै महत्वको अवसर थियो,’ उनले भनिन्।

सात वर्षपछि फेरि अर्को संयोग जुरेको छ। हालैमात्र बेलायतस्थित लिभरपुल जोन मुर्स युनिभर्सिटीले पाठ््यक्रममै नेपालका ‘सेलेब्रेटिङ वुमन’हरूका कामहरूलाई राख्ने भएको छ । ‘यसमा म र रक्षा नेपाल पनि समावेश छ। हिजो हामीले अन्यत्र देशका महिलाहरूको कुरा पढ्नुपथ्र्यो। अब हामीबाट पनि संसारले सिक्न सक्ने भए, यसमा औधी खुशी लागेको छ,’ मेनुकाले भनिन्।

अबको यात्रा
यौनजन्य हिंसापीडित महिलाहरूको पीडामा मल्हम लगाउने क्रममा मेनुकाले स्नातकसम्म पढ्ने समय मिलाइन्। त्यसपछिको अध्ययन यात्राको क्रम टुटेको छ। उनी समय मिलाएर थप अध्ययन गर्ने सोचमा छिन्।

नेपालमा जन्मेकाले देश र समाजप्रतिको दायित्व बहनमा उत्तिकै जिम्मेवार ठान्छिन्, उनी। भन्छिन्, ‘समाजमा घटेका प्रत्येक घटनाप्रति जानेर या नजानेर जिम्मेवार हुन्छु भन्ने ठान्छु। धेरै मान्छेहरू अरुलाई दोष दिन्छन्, म पनि कहीँ न कहीँ दोषी छु की। तर, यहाँ मेरो पनि दोष छ कि भनेर नहेर्ने रहेछन्। परिवारसँगै समाज र राज्यलाई बलियो बनाउन सक्नुपर्छ । सबैलाई उत्तरदायित्व बोध गराउनु पर्छ,’ उनले भनिन्।

पछिल्लो समय देशभरि बलात्कारका घटनाहरू बढ्दो रहेकोमा मेनुका चिन्ता व्यक्त गर्छिन्। त्यसैले बलात्कारजस्तो जघन्य अपराधविरुद्ध खरो रूपमा उत्रँदै आएकी छिन्। उनले बालिका, हाडनाता, वृद्ध महिला, सामूहिक बलात्कार र अपांगता भएका महिलालाई बलात्कार गर्नेविरुद्ध मृत्युदण्डको सजाय हुनुपर्ने मागसहित अभियान थालेकी छिन्।

‘बलात्कार शारीरिक आक्रमण मात्रै नभई आत्मामाथिको आक्रमण पनि हो। शरीरको घाउ त पुरिएला। तर, आत्मामाथिको चोट पुरिन गाह्रो छ,’ उनले भनिन्, ‘अझै पनि नेपाली समाज ‘नो’बाट सुरु हुँदो रहेछ। हामी सक्छौं भन्ने तीन प्रतिशत पनि छैनन्। त्यसैले पनि बलात्कारविरुद्धका लडाइँमा साथ दिने असंख्य तन–मनहरूलाई एकत्रित गर्नु परेको छ । यो चुनौती लिएर अघि बढ्ने प्रण गरेकी छु,’ उनले दृढता व्यक्त गरिन्।

You Comments